नगर प्रहरीको मनोबल नघटाउनुहोस्, सरकार तपाईंहरूको साथमा छ : मन्त्री लम्साल

काठमाडौं: पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले काठमाडौं महानगरपालिकाका नगर प्रहरीलाई मनोबल कमजोर नबनाउन आग्रह गरेका छन्।

मुगुका गणेश नेपालीको आत्मदाह घटनापछि सडकमा नगर प्रहरीको उपस्थिति कम देखिएको सन्दर्भमा मंगलबार संसद बैठकमा बोल्दै मन्त्री लम्सालले नगर प्रहरीको भूमिकाको प्रशंसा गरे।

उनले नगर प्रहरीकै कारण धेरै एम्बुलेन्स समयमै अस्पताल पुगेको र धेरै नागरिकको ज्यान जोगिएको बताए।

नगर प्रहरीको मनोबल खस्किँदा थप मानवीय क्षति भएको हुन सक्ने आशंका व्यक्त गर्दै उनले त्यसबारे पर्याप्त चर्चा नभएको टिप्पणी गरे।

मन्त्री लम्सालले सरकार नगर प्रहरीको साथमा रहेको उल्लेख गर्दै आफ्नो जिम्मेवारी निरन्तर प्रभावकारी रूपमा निर्वाह गर्न आग्रह गरे। साथै, परिवर्तन आउन समय लाग्ने भएकाले आशावादी रहँदै सबै मिलेर देश निर्माणमा लाग्नुपर्ने धारणा पनि व्यक्त गरे।