काठमाडौं: जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय रहेकाले देशका विभिन्न स्थानमा आगामी तीन दिनसम्म वर्षा हुने र पूर्वी नेपालका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ। भारी वर्षासँगै बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।
महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा हेर्न आग्रह गरेका छन्। हाल मनसुनको न्यूनचापीय रेखा औसत अवस्थाभन्दा केही उत्तरतर्फ, तराई क्षेत्र नजिक रहेको विभागले जनाएको छ।
तीनदिने पूर्वानुमानअनुसार आज रातिदेखि बिहीबारसम्म देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी तथा तराईका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ भने हिमाली क्षेत्रका केही स्थानमा वर्षासँगै हिमपात पनि हुन सक्ने महाशाखाले जनाएको छ।
महाशाखाले मनसुन अझै सक्रिय रहने भएकाले यात्रा तथा अन्य बाह्य गतिविधि अघि बढाउँदा मौसमको पछिल्लो जानकारी लिएर मात्र योजना बनाउन र सम्भावित मनसुनजन्य विपद्बाट सुरक्षित रहन सबैलाई अनुरोध गरेको छ।


















