गेस्टहाउसबाट खसेर युवतीको मृत्यु, चार जनाविरुद्ध ज्यान मुद्दामा अनुसन्धान

काठमाडौं: भक्तपुरको एक गेस्टहाउसबाट खसेर १८ वर्षीया सलिना श्रेष्ठको मृत्यु भएको घटनामा प्रहरीले उनीसँगै गेस्टहाउसमा गएका चार जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।

दोलखा घर भई चाँगुनारायण नगरपालिका–९ बस्दै आएकी सलिना साउन ४ गते भक्तपुर नगरपालिका–१ स्थित लुम्बिनी गेस्टहाउसको तेस्रो तलाबाट खसेकी थिइन्। उनको घटनास्थलमै मृत्यु भएको थियो।

घटनापछि प्रहरीले सलिनासँगै गेस्टहाउसमा गएका २३ वर्षीय समीर तामाङ, २० वर्षीया रोजा तामाङ, २१ वर्षीय हिमाल तामाङ र १९ वर्षीया कोपिला तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी दीपककुमार कार्कीका अनुसार सलिनालाई कसैले धकेलेर खसालेको हो वा उनी आफैं खसेकी हुन् भन्ने विषयमा अहिले नै निष्कर्षमा पुग्न सकिने अवस्था छैन। शवको पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारणबारे थप स्पष्ट हुने उनले बताए।

प्रहरीले पक्राउ परेकाविरुद्ध ज्यान सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ। अनुसन्धानबाट हत्या पुष्टि नभए मुद्दाको प्रकृति परिवर्तन हुन सक्ने प्रहरीको भनाइ छ।

प्रारम्भिक अनुसन्धानका क्रममा घटनास्थलमा रहेका व्यक्तिहरूले मादक पदार्थ सेवन गरेको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।