चार वर्षभित्र विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल

काठमाडौं:  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी चार वर्षभित्र विश्वविद्यालयमा रहेको राजनीतिकरण अन्त्य गरी मेरिटोक्रेसी (योग्यता र क्षमता) का आधारमा सञ्चालन गरिने बताएका छन्।

बिहीबार त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालय सभाका उपाध्यक्षसमेत रहेका मन्त्री पोखरेलले विश्वविद्यालयको नेतृत्व, नियुक्ति, सरुवा, बढुवा तथा प्रशासनिक निर्णय राजनीतिक भागबण्डाका आधारमा नभई योग्यता र क्षमताका आधारमा गरिने स्पष्ट पारेका हुन्।

उनले विश्वविद्यालयमा कुनै पनि राजनीतिक दबाब स्वीकार नगर्ने सरकारको प्रतिबद्धता दोहोर्‍याउँदै विश्वविद्यालयको स्वायत्तता र प्राज्ञिक वातावरण जोगाउन आवश्यक संरक्षण र सहयोग उपलब्ध गराइने बताए।

मन्त्री पोखरेलले विश्वविद्यालयका पदाधिकारी तथा सरोकारवालालाई कुनै पनि राजनीतिक दबाब वा अनुचित हस्तक्षेप भए तत्काल मन्त्रालयलाई जानकारी गराउन आग्रह गरे। आफ्नै दल वा अन्य कुनै पनि राजनीतिक शक्तिबाट दबाब आए पनि त्यसको प्रतिरोध गर्न सरकार तयार रहेको उनको भनाइ थियो।

विश्वविद्यालय सुधार राजनीतिक स्वार्थभन्दा माथि उठेर मात्र सम्भव हुने उल्लेख गर्दै उनले आगामी दिनमा सबै निर्णय मेरिटोक्रेसीका आधारमा हुने विश्वास व्यक्त गरे। साथै, विश्वविद्यालयलाई सक्षम, प्रतिस्पर्धी र गुणस्तरीय बनाउने लक्ष्यसहित सुधारका कार्यक्रम अघि बढाइने उनले बताए।