धनगढी: चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले कैलालीको धनगढीबाट आफ्नो २४औँ सत्याग्रह सुरु गरेका छन्।
उनले बिहीबार दिउँसो ३ बजेदेखि धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा आमरण अनसन थालेका हुन्।
डा. केसीका सहयोगी डा. अमृत जैशीका अनुसार सरकारले विगतमा गरेका सहमति कार्यान्वयन नगरेको, चिकित्सा शिक्षा आयोग तथा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा कानुनविपरीत नियुक्ति गरिएको भन्दै ती निर्णय सच्याउनुपर्ने मागसहित डा. केसी पुनः अनसनमा बसेका हुन्।
गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको अन्तिम तयारी भइरहेका बेला सुरु भएको यो सत्याग्रहले विश्वविद्यालय सञ्चालन प्रक्रियामा असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ। यसअघि सुदूरपश्चिमका राजनीतिक दल, विद्यार्थी संगठन, नागरिक अगुवा तथा स्थानीयवासीले डा. केसीलाई अनसन स्थगित गर्न आग्रह गरेका थिए।
चिकित्सा शिक्षा क्षेत्रमा सुधार, पारदर्शिता र सुशासनको माग गर्दै डा. केसी विगतदेखि पटक–पटक सत्याग्रहमा बस्दै आएका छन्। उनले यसपटक पनि सरकारले आफ्ना माग सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने संकेत दिएका छन्।


















