अनशनरत डा. गोविन्द केसी आईसीयूमा, स्वास्थ्य अवस्था कमजोर

काठमाडौं: चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका माग राख्दै धनगढीमा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको छ।

धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा तीन दिनदेखि २४औँ अनशनमा रहेका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार अस्पताल लगिएको हो।

डा. केसीका सहयोगी डा. अमृत जैसीका अनुसार अनशनका कारण उनको रगतमा चिनी (सुगर) को मात्रा घटेर ५० पुगेको थियो। स्वास्थ्य अवस्था थप कमजोर बन्दै गएपछि उनलाई तत्काल सेती प्रादेशिक अस्पताल पुर्‍याइएको उनले बताए।

अस्पतालका अनुसार डा. केसीलाई आईसीयूमा राखेर उपचार भइरहेको छ।

डा. केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्नेलगायत आफ्ना विभिन्न माग सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै अनशन जारी राखेका छन्।