सुनसरी घटनाबारे प्रधानमन्त्रीले सुरक्षा प्रमुखसँग लिए ब्रिफिङ

काठमाडौं: प्रधानमन्त्री बालेन शाहले सुनसरीमा भएको घटनापछि उत्पन्न शान्ति–सुरक्षाको अवस्थाबारे नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग विस्तृत ब्रिफिङ लिएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा प्रधानमन्त्री शाहले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की तथा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेट गरी सुनसरीको पछिल्लो सुरक्षा अवस्था, देखिएका चुनौती र सम्भावित जोखिमबारे जानकारी लिएका हुन्।

ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहले सुनसरीको अवस्था तत्काल नियन्त्रणमा ल्याउन, नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्भाव बिथोल्ने कुनै पनि गतिविधिमाथि कडा निगरानी राख्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

उनले कानूनको प्रभावकारी कार्यान्वयन गर्दै शान्ति–सुरक्षा कायम गर्न आवश्यक सबै उपाय अवलम्बन गर्न तथा आम नागरिकमा सुरक्षा अनुभूति दिलाउन सुरक्षा निकायलाई सक्रिय रूपमा परिचालन हुन आग्रह गरेका छन्।

सुनसरी घटनापछि विकसित परिस्थितिलाई ध्यानमा राख्दै सरकारले सुरक्षा व्यवस्था थप सुदृढ बनाउने र सम्भावित अप्रिय घटना हुन नदिन आवश्यक समन्वय र निगरानीलाई प्रभावकारी बनाउने जनाएको छ।