काठमाडौं: पहिरोका कारण नेपाल–चीन व्यापारको प्रमुख स्थलमार्ग तातोपानी नाका तीन साताभन्दा लामो समयदेखि अवरुद्ध हुँदा दुई देशबीचको व्यापार प्रभावित भएको छ।
तातोपानी जोड्ने सडकका विभिन्न स्थानमा पहिरो गएपछि चीनबाट मालसामान बोकेका कन्टेनर नेपाल भित्रिन सकेका छैनन्। सडक अवरुद्ध हुँदा नाकाबाट हुने आयात–निर्यात ठप्पजस्तै भएको छ।
तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दीपेन्द्रप्रकाश गिरीले सडक अवरुद्ध भएकै कारण नेपाल–चीनबीचको वैदेशिक व्यापारमा असर परेको बताए।
“नाकामा सडक अवरुद्ध भएकाले चीनतर्फबाट मालवाहक सामानसहितका कन्टेनर पनि भित्रिन सकिरहेका छैनन्,” गिरीले भने, “सडक कहिलेदेखि सञ्चालन हुने अहिलेसम्म कुनै टुंगो लागेको छैन।”
लामो समयसम्म नाका सञ्चालनमा आउन नसक्दा आयातकर्ताले ढुवानी तथा व्यापारमा समस्या भोगिरहेका छन्। सडक कहिले सञ्चालनमा आउने भन्ने स्पष्ट नभएकाले व्यापार सुचारु हुने समयसमेत अनिश्चित बनेको छ।






















