काठमाडौंः सरकारले माघ २२ गतेदेखि सञ्चालमा ल्याएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान फागुन ५ गतेसम्म सञ्चालित हुने छ । तर खोपलाई लिएर पछिल्लो समय विभिन्न खालका टिकाटिप्पणी भइरहेका छन् । यो खोपले बाँझोपना गराउँछ भन्ने जस्ता विषयले पछिल्लो समय चर्चा बटुलेको छ । तर समाजिक सञ्जालमा आएको जस्तो यो खोपले महिलाहरुमा बाँझोपना हुने कुनै तथ्य नभएको परिवार कल्याण महाशाखा अन्र्तगतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख अभियान गौतम बताउँछन् ।
डा. गौतम अनुसार अमेरिका, क्यानेडा जस्ता युरोपियन मुलकहरुले समेत यो खोप प्रयोगमा ल्याएको छ । विकशीत मुलकहरुले प्रयोगमा ल्याइसकेको एचपीभी खोप विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट मान्यता प्राप्त खोप हो ।
सन् २००६ बाट चारवटा देशहरुबाट सुरु भएको एचपीभी खोप हाल नेपालसहित १ सय ४६ वटा मुलुकहरुले प्रयोगमा ल्याएका छन् ।
एचपीभी खोप विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट मान्यता प्राप्त खोप हो । एचपीभी खोप सुरक्षित र प्रभावकारी भएको डब्लु एचओका साथै यूनीसेफ, अमेरिका नेश्नल मेडिसिन अफ लाइब्रेरी जस्ता निकायले प्रष्ट पारेका छन् । साथै एचपीभी खोप र बाँझोपनाको कुनै पनि सम्बन्ध नभएको अर्थात एचपीभी खोप बाँझोपनाको कारक नभएको नेश्नल मेडिसिन अफ लाइब्रेरीले गरेको अध्ययनको प्रदिवेदनमा उल्लेख गरिएको छ ।
नेपालमा पनि एचपीभी खोप नेपालको खोप ऐन अनुसार औषधि व्यवस्था विभागबाट मान्यता पाएर सञ्चालनमा ल्याएको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख अभियान गौतमको भनाई छ ।

पाठेघरको मुखको क्यान्सर विरूद्धको एचपीभी खोप अभियानको सद्भावना दूतका रहेकी कलाकार मनिषा कोइरालाले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप प्रभावकारी र सुक्षित भएको बताउँछन् । उनले नेपाल सरकारले महिलालाई हुने पाठेघरको मुखको क्यान्सर रोकथाम र नियन्त्रणका लागि सञ्चाल गरेको खोप अभियान निकै महत्वपूर्ण भएको समेत धारणा व्यतm गरिन् । साथै खोपप्रति कुनै सन्देह नराखी खोप लगाउन समेत उनले सबैलाई अनुरोध गरेकी छिन् ।
नेपालमा दैनिक ६ जना महिला पाठेघरको मुखको क्यान्सरबाट संक्रमित हुने गरेका छन् । ती मध्ये दैनिक ४ जना महिलाले ज्यान गुमाउने गरेका छन् । नेपालमा बढ्दो पाठेघरको मुखको क्यान्सर न्यून गर्ने उद्देश्यले नै सरकारले किशोरी लक्षित माघ २२ देखि फागुन ५ गते सम्म एचपीभी खोप अभियान सञ्चालमा ल्याएको छ । जसमा हाल सम्म १० लाख भन्दा बढि किशोरीहरुले एचपीभी खोप लगाइसकेका छन् ।


















