काठमाडौंः पाठेघरको मुखको क्यान्सरबाट महिलाई जोगाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको एचपीभी खोप अभियानबाट १३ लाख किशोरीले खोप प्राप्त गरेका छन्।
अभियानको १२ औं दिन शनिबारसम्म उल्लिखित परिमाणमा किशोरीहरुले खोप प्राप्त गरेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा जनाएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एचपीभी खोप अभियानलाई सफल पार्न खट्ने सबै स्वास्थ्यकर्मीहरु, स्वयंसेवक, सहयोगी विद्यालय लगायत सबै सहयात्रीहरुलाई अनवरत मेहनतका लागि भन्दै धन्यवाद ज्ञापन गरेका छन्।
अभियानका क्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र १० देखि १४ वर्षका किशोरीहरुलाई स्थानीय तहमा रहेका केन्द्रहरुमार्फत खोप प्रदान गरिएको छ।
अबको अवधिमा छुटेका बालिकाको पहिचान गरी खोप प्रदान गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।
अभियानका क्रममा करिब १७ लाख किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ।
नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण ज्यान जाने महिलाहरुको संख्या उच्च छ।
सानै उमेरमा खोप प्रदान गरेर यो समस्या कम गर्ने योजना अनुसार निरोधात्मक विधि अन्तर्गतका कार्यक्रमसमेत अघि बढिरहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।
माघ २२ गते शुरु भएको अभियान फाल्गुन ६ गतेसम्म चल्नेछ।


















