काठमाडौँः नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको शुक्रवारको बैठकमा सांसद बडूले ध्यानाकर्षण गराएका हुन्। उनले गत वर्ष आएको बाढीका कारण क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि सरकारको योजना के छ भन्दै प्रश्नसमेत गरे।
उनले दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ४ को एउटा गाउँ बाढीले विस्थापित हुन पुगेको भए पनि अहिलेसम्म पुनर्निर्माण हुन नसकेको बताए।
‘गत वर्षको बाढीबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माणको काममा अब सरकारको के योजना हो? कहिले शुरु गर्छ? दार्चुला जिल्लाको मार्मा गाउँपालिकाको वडा नम्बर ४ पूरै गाउँ गत वर्ष भाद्रमा आएको बाढीबाट पूर्णतः क्षतिग्रस्त भएको छ‚’ उनले भने, ‘जनता विस्थापित भएका छन्। सिँचाइ र खानेपानीका संरचनाहरु पूर्णतः ध्वस्त छन्। अहिलेसम्म पुनः निर्माण हुन सकेन। अझै पुनःनिर्माण नगर्ने हो भने जनता त्रसित अवस्थामा रहेका छन्। म सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु।’
क्षतिग्रस्त संरचनाहरुको समयमै पुनःनिर्माण नहुँदा जनता त्रसित र भयमा बाँच्न बाध्य रहेको सांसद बडूको भनाइ छ।


















