विद्यालय शिक्षा विधेयक छलफल गर्न ११ सदस्यीय उपसमिति गठन

काठमाडौं:  प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा दफावार छलफल गर्न उपसमिति गठन गरेको छ ।

समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले नेकपा (एमाले)का सांसद छविलाल विश्वकर्माको संयोजकत्वमा ११ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको हो ।

सभापति अम्मरबहादुर थापाका अनुसार सबै दलको प्रतिनिधित्व रहेको टिममा विधेयकका विवादित विषय टुंग्याएर छिटोभन्दा छिटो प्रतिवेदन पेस गर्ने गरी उपसमिति बनाइएको छ ।

उपसमितिलाई कतिपय समितिका अन्य सदस्य, विज्ञ र अन्य सरोकारवालाहरूसँग छलफल तथा परामर्श गरेर टुंगाउन भनिएको छ भने आन्तरिक पनि बसेर टुंग्याईने सभापति थापाले बताए ।

उपसमितिमा सांसदहरू विश्वकर्मासँगै, डिगबहादुर लिम्बू, देवेन्द्र पौडेल, महेन्द्रकुमार राय, रामप्रकाश चौधरी, रेखा शर्मा, विना जैसवाल, विनिताकुमारी सिंह, सरिता भुसाल सदस्य रहेका छन् ।

उपसमितिलाई ३५ दिनभित्र प्रतिवेदन पेस गर्न समयसीमा तोकिएको छ ।