काठमाडौं: नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालले भूराजनीतिक संवेदनशीलता बुझेर राजनीतिक गतिविधि अगाडि बढाउनुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा एमाले सहरी विकास विभागद्वारा आयोजित अन्तर्क्रिया कार्यक्रममा उपाध्यक्ष पोखरेलले भूराजनीतिक संवेदनशीलता नबुझ्दा देशमा कठिन अवस्था आउनसक्ने भन्दै संवेदनशीलता बुझेर अगाडि बढाउनुपर्ने बताएका हुन् ।
पोखरेलले विश्वको सबैभन्दा धेरै जनसंख्या भएका दुई मुलुकको बीचमा नेपाल रहेको भन्दै ढंग नपुर्याउँदा सार्वभौमसत्ता, अखण्डता र स्वाधिनता कायम राख्न पनि कठिन हुने उल्लेख गरे ।
राजावादीको आन्दोलनतर्फ इंगित गर्दै उनले वर्तमान अवस्थामा नेपालको राष्ट्रिय शक्तिहरूलाई छिन्नभिन्न गराउने किसिमले कुनै शक्ति लागिरहेको भन्दै त्यस्ता गतिविधिप्रति सचेत रहन आवश्यक रहेको समेत औलाए ।
साथै उनले नेकपा एमालेले पार्टीको नीति निर्देशन र उद्देश्य मात्र नभइ समग्र राष्ट्रको समृद्धिका लागि सबै पक्षहरूलाई समेटेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
उनले भने- ‘कतिपय कुराहरु पार्टीगत ढंगले गरिएको कुराहरु भन्दा पनि अलि पृथक ढंगले पनि सोच्नुपर्ने हुन्छ,’ देश निर्माण गर्ने खालका कुरा, पार्टीको एउटा भिजन छ,’ तर त्यो भिजनबाट निर्देशित भएर चलेर अगाडि बढ्ने हो,’ यो सँगसँगै अन्य सम्भव भएका सबै पक्षहरूलाई समेट्ने हिसाबले हामी जानुपर्ने हुन्छ,’ त्यो योग्यतापूर्वक गर्न सकियो भने मात्रै हामी ठिक ढंगले अगाडि बढ्नसक्छौँ’ ।
पोखरेलले अधिकार प्राप्तिको लडाइँ सकिएकाले राष्ट्रमा समृद्धि प्राप्तिको अभियानमा एमाले लागेको पनि बताए ।


















