बागमती प्रदेशको खर्च निराशाजनक

काठमाडौ: बागमती प्रदेशको खर्च निराशाजनक देखिएको छ ।

प्रदेश सरकारले चालु आव २०८१–८२ को साउनदेखि फागुन महिनासम्ममा कूल बजेटको करिब २५ दशमलव ६२ प्रतिशत मात्र खर्च गरेको छ ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयकाको अनुसार चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट ल्याएकामा आठ महिना सकिँदा रु १० अर्ब ५० करोड २९ लाख नौ हजार मात्र खर्च भएको छ ।

बजेटमध्ये चालुको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको छ । सो अवधिमा चालुतर्फ ३५ दशमलव २२ प्रतिशत र पुँजीगततर्फ १९ दशमलव ९४ प्रतिशत बजेट खर्च भएको छ ।

विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ४७ दशमलव ६९ प्रतिशत, प्रदेशसभा सचिवालयले ३८ दशमलव २२ प्रतिशत बजेट खर्च गरेको छ भने सबैभन्दा कम पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले नौ दशमलव ७९ प्रतिशत बजेट खर्च गरेको छ ।

चालु आवको दोस्रो चौमासिकसम्म चालु खर्च बढी हुने र पुँजीगत खर्च कम हुने गरेको छ । योजनाहरू कार्यान्वयनमा जान नसकेकाले खर्च कम देखिएको हो ।