काठमाडौं: आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने भएको हो ।
प्रतिनिधिसभाको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन (आव २०८०/२०८१) पेस गर्ने कार्यसूची छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नबल किशोर साह सुडीले बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक २०८२ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
यसैगरी उनले बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक २०८२ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । उक्त विधेयकमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्न लागिएको छ । सो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव मन्त्री अधिकारीले आजको बैठकमा राख्ने छन् ।


















