काठमाडौं: त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. दीपक अर्यालले कार्यभार सम्हालेका छन् ।
प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट सपथ लिएपछि पदभार सम्हाल्न उनी कीर्तिपुर पुगेका हुन् ।
कुलपति ओलीसमक्ष प्रा.डा. अर्यालले बुधबार पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको अध्यक्षतमा गठित सिफारिस समितिले उपकुलपतिका लागि अर्यालसहित खड्ग केसी र प्रा.डा. विनिल अर्यालको नाम सिफारिस गरेको थियो ।
जसमध्येबाट कुलपति ओलीले डा. अर्याललाई उपकुलपतिमा नियुक्त गरेका थिए ।
अर्याल जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख हुन् ।
१५ चैतमा प्रा.डा. केसरजंग बरालले राजीनामा दिएपछि त्रिविमा उपकुलपति पद रिक्त भएको थियो ।


















