काठमाडौँ: भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका आगजनी र तोडफोडको घटनामा भाटभटेनी सुपरमर्केटका २० वटा शाखामा गरी कुल १० अर्ब ८५ करोडभन्दा बढी क्षति पुगेको छ ।
सुपरमर्केटका सबै शाखामा गरी १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८५४ रुपैयाँ बराबरको क्षति भएको भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले जानकारी दिएका हुन् ।
क्षतिको विवरण सङ्कलनका क्रममा यस्तो पाइएको उनको बताए ।
गुरुङले प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा १२ वटा स्टोर पूर्णरुपमा जलाइएको र बाँकी नौ वटामा आंशिक क्षति पुगेको जानकारी गराएका छन् । उनले भाटभटेनीमा कार्यरत दश हजार बढी कर्मचारीलाई बिदा नगर्ने आफूहरूको योजना रहेको बताउँदै दशैं बोनस पनि पूरा महिनाको प्रदान गर्ने जानकारी पनि गराएका छन् ।
प्रधानमन्त्रीसँगको भेटमा उनले राज्यले चाहेमा आफूले आधा सम्पत्ति प्रदान गर्न तयार रहेको र पटक पटक प्रतिबद्धता जनाउँदा पनि भाटभटेनीमाथि नै ‘टार्गेट’ गरिएको गुनासो समेत गरे ।
भाटभटेनीका १२ वटा स्टोर पूर्णरुपमा क्षति भएका र आंशिक क्षति भएका नौ वटा गरी १९ वटा स्टोरको संरचनामा चार अर्ब ४० करोड ६ लाख ५४ हजार ६०३ रुपैयाँ बराबरको क्षति भएको छ । यस्तै पाँच अर्ब ९६ करोड तीन लाख ६७ हजार ५९६ रुपैयाँ बराबरका सामग्री पूर्णरुपमा जलाइएको छ ।
यसैगरी ४९ करोड ५७ लाख ७६ हजार ६५५ रुपैयाँ बराबरका सामग्री तोडफोड र लुटपाट गरिएको भाटभटेनीले जनाएको छ ।
भाटभटेनीका स्केलेटर, लिफ्ट, फ्रिजलगायतका महँगा वस्तुहरु पनि भवनसँगै जलेर नष्ट भएका छन्।


















