काठमाडौं: जिल्ला प्रशासन कार्यालय काठमाडौंले भारी वर्षा हुने जानकारी प्राप्त भएकाले अबको केही दिन रातको समयमा काठमाडौं आवतजावत नगर्न अनुरोध गरेको छ ।
जल तथा मौसम विज्ञान विभागबाट भारी वर्षा हुने जानकारी प्राप्त भएकाले अबको केही दिन रातको समयमा काठमाडौं आवतजावत नगर्न अनुरोध गरेको हो ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान तथा प्रेषित सूचना अनुसार यही असोज १७ गतेदेखि २० गतेसम्म विभिन्न जिल्लामा भारी वर्षा हुने बताएकाले उक्त स्थानहरूमा बाढी, पहिरो, भूक्षयजस्ता विपद्जन्य घटनाहरू घट्न सक्ने सम्भावना रहेको हुँदा आ-आफ्नो स्थानमा नै रही सतर्कता र सावधानी अपनाउन अनुरोध गरेका छन् ।
उनले अत्यन्त जरुरी नभई सकेसम्म उक्त अवधिमा लामो दुरीको यात्रा नगर्न पनि अनुरोध पनि गरेका छन् ।
उनले एक सूचना जारी गर्दै भनेका छन्- “काठमाडौंबाट बाहिर जाने र बाहिरबाट काठमाडौं प्रवेश गर्ने महानुभावहरूले रातको समयमा यात्रा नगर्न अनुरोध छ ।”
साथै, विपद्को समयमा तत्काल कुनै प्रकारको उद्धार, सहयोग र राहत आवश्यक परेको खण्डमा जिल्ला प्रहरी परिसर, काठमाडौंको सम्पर्क नम्बर १६६०–०१–४१५१६, ९८५१२८३०२६, ०१–५७२१०१७, सशस्त्र प्रहरी बल नेपाल नम्बर २० (विपद् उद्धार) गण, सिनामंगलको सम्पर्क नम्बर ९८५१२७२०३५, ०१–४४७१३३७ र जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको सम्पर्क नम्बर ९८५१३६२९३७ मा सम्पर्क गर्नसमेत प्रशासनले सूचना जारी गरेको छ ।
यसअघि, नै ललितपुर प्रशासनले पनि कान्ति लोकपथका सवारी आवागमन रोक्ने निर्णय गरिसकेको छ । बिहान ६ देखि दिउँसो ४ बजेसम्म मात्र सवारी सञ्चालन गर्ने र चार चक्केभन्दा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरीसकेको छ ।
अन्य विभिन्न जिल्लाले पनि जोखिम क्षेत्रमा सवारी आवागमन रोक्ने निर्णय गरिसकेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार आज रातिदेखि नै मनसुनी गतिविधि सक्रिय हुने छ ।
शनिबार र आइतबार बढी वर्षा हुने अनुमान विभागले सार्वजनिक गरिसकेको छ ।


















