वैशाखयता विपद्जन्य घटनाका कारण २८५ जनाको मृत्यु

काठमाडौं: यो वर्ष वैशाखयता हालसम्म विभिन्न विपद्जन्य घटनामा परेर २८५ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वैशाखयता हालसम्म विभिन्न विपद्जन्य घटनामा परेर २८५ जनाको मृत्यु तथा आइतबार सम्मको तथ्यांक अनुसार अन्य २७ जना बेपत्ता रहेको  प्राधिकरणले जनाएको हो ।

प्राधिकरणका अनुसार आइतबार मात्रै ४४ जनाको मृत्यु भएको र पाँचजना बेपत्ता रहेका छन् ।

सबैभन्दा बढी आज इलाममा ३७ जनाको पहिरोमा परेर ज्यान गएको र पछिल्लो प्रणालीबाट ५० जिल्ला प्रभावित तथ्यांक छ ।

प्राधिकरणका अनुसार वैशाखयता सबैभन्दा बढी सर्पदंशबाट मात्रै ८६ जनाको मृत्यु भएको छ । त्यसपछि पहिरोमा परेर ४६ तथा चट्याङबाट ४५ जनाको मृत्यु भएको हो ।

प्राधिकरणले आज सार्वजनिक गरेको विपद्जन्य घटनाको अभिलेखमा बाढीका कारण ३०, भारी वर्षाबाट ६, आगलागीबाट २३, हावाहुरीका कारण आठ, जनावरको आक्रमणबाट २२ र लेक लागेर १९ जनाको मृत्यु भएको जनाएको छ ।

यस्तै, बाढीबाट २३ जना, पहिरोका कारण तीन र जनावरको आक्रमणबाट एकजना बेपत्ता भएका छन् ।

हालसम्म चार हजार ६५ वटा विपद्जन्य घटना भएको र ती घटनामा परेर एक हजार ७२ जना घाइते भएका छन् ।

यसैगरी, कुल सात हजार २११ परिवार ती विपद्‌बाट प्रभावित बनेको पनि प्राधिकरणले जनाएको छ ।