बुढानीलकण्ठमा मेनोपोज सचेतना कार्यक्रम सञ्चालन, थप कार्यक्रम सार्वजनिक

काठमाडौं: बुढानीलकण्ठ नगरपालिका जनस्वास्थ्य महाशाखाले मेनोपोज (रजोनिवृत्ति) सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।

वडा नं. ५ को डाँडागाउँमा आयोजित कार्यक्रममा ह्याम्स अस्पतालकी वरिष्ठ गाइनोलोजिष्ट डा. करिष्मा पाण्डेले मेनोपोजका क्रममा देखिने स्वास्थ्य समस्या र समाधानको उपाय जानकारी गराइन्। साथै उनले सहभागी महिलाहरूलाई स्वस्थ जीवनशैली, पोषण र नियमित स्वास्थ्य परीक्षण गर्न समेत सचेत गराइन्।

यसैगरी, नगरपालिकाले यस कार्यक्रमलाई थप प्रभावकारी बनाउन आगामी तालिका समेत सार्वजनिक गरेको छ।

सार्वजनिक तालिका आनुसार, वैशाख १६ गते वडा नं. १०, ११, १२ र १३ का लागि दिउँसो २ बजे बालउद्धार माध्यमिक विद्यालय, वडा नं. १० मा कार्यक्रम सञ्चालन गरिने छ। त्यस्तै, वैशाख १७ गते वडा नं. १, २, ३, ४, ६, ७, ८ र ९ का लागि बिहान ११ बजेदेखि नगरपालिकाको सभाहलमा विशेष अभिमुखीकरण कार्यक्रम सञ्चालन हुने समेत नगरपालिकाले जानकारी गराएको छ ।

महिला स्वास्थ्यप्रति जागरूकता अभिवृद्धि गर्ने उद्देश्यले मेनोपोज (रजोनिवृत्ति) सम्बन्धी सचेतना कार्यक्रम गरिएको नगरपालिकाले जनाएको छ ।