बेनी–जोमसोम–कोरला सडकमा पाँच पुल निर्माण प्रक्रिया अघि बढ्दै

काठमाडौं: उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनामा थप पाँच वटा पक्की पुल निर्माणको प्रक्रिया अघि बढाइएको छ।

अर्थ मन्त्रालयले पुल निर्माणका लागि ९६ करोड ८० लाख रुपैयाँको स्रोत सहमति दिएको आयोजनाले जनाएको हो।

मालढुङ्गा–बेनी तथा बेनी–जोमसोम सडकखण्डमा निर्माण गरिने ती पुलका लागि मन्त्रीस्तरीय निर्णयमार्फत बहुवर्षीय योजना स्वीकृत भएको आयोजना प्रमुख तेजस्वी शर्माले बताइन्।

आयोजनाका अनुसार पर्वत र म्याग्दी जोड्ने बेनीस्थित कालीगण्डकी नदी, अन्नपूर्ण गाउँपालिका–३ को रुप्से क्षेत्र, थासाङ गाउँपालिका–२ को सुनखोला र घट्टेखोला तथा टुकुचेस्थित थापाखोलामा रहेका बेलिब्रिज विस्थापन गरी पक्की पुल निर्माण गरिनेछ ।

पाँचवटै पुल निर्माणका लागि एक महिनाभित्र ठेक्का प्रक्रिया सुरु गरिने आयोजनाले जनाएको छ ।आयोजना अन्तर्गत हालसम्म १५ वटा पक्की पुल निर्माण सम्पन्न भइसकेका छन् ।

यसैगरी,उपल्लो मुस्ताङको घमी खोलामा निर्माणाधीन पुल भने अन्तिम चरणमा पुगेको र चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने जनाइएको छ ।