नयाँ नियमावलीसँगै पशुपति कोषको कार्यकारी निर्देशक पद खारेज

काठमाडौं: पशुपति क्षेत्र विकास कोषमा अब कार्यकारी निर्देशक पद नहुने भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ नियमावली जारी गर्दै उक्त पद खारेज गरेको हो।

‘पशुपति क्षेत्र विकास कोष कर्मचारी सेवा, सर्त तथा सुविधासम्बन्धी नियमावली, २०८३’ अनुसार कोषको कार्यकारी जिम्मेवारी सदस्यसचिवमार्फत सञ्चालन हुने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।यसअघि २०६० सालमा नियमावली संशोधन गरी कार्यकारी निर्देशक पद सिर्जना गरिएको थियो।

नयाँ व्यवस्था लागू भएसँगै हाल कार्यकारी निर्देशक रहेका सुभासचन्द्र जोशी पदमुक्त भएका छन्।

यसअघि उक्त पदमा रामशरण चिमौरिया, कोषप्रसाद आचार्य, रमेश उप्रेती, डा. घनश्याम खतिवडा र लक्ष्मी पुनले पनि जिम्मेवारी सम्हालिसकेका थिए।

नियमावली संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज अधिकारी (गनेस) ले स्वीकृत गरेका हुन्।