काठमाडौं: सांसद महावीर पुनले मुलुकको औद्योगिक विकास र आर्थिक समृद्धिका लागि अनुसन्धान तथा नवप्रवर्तनलाई प्राथमिकतामा राख्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधि सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले राज्यले विलासी वस्तु र तयारी सामानभन्दा कच्चा पदार्थ आयातमा सहुलियत दिनुपर्नेमा जोड दिएका हुन्।
उनले नेपालको वर्तमान कर नीति उद्योगमैत्री नभएको टिप्पणी गर्दै स्वदेशमै उत्पादनका लागि आवश्यक कच्चा पदार्थ ल्याउँदा उच्च भन्सार तिर्नुपर्ने अवस्था रहेको बताए।
बिरगंजस्थित कृषि औजार कारखाना सञ्चालनको अनुभव सुनाउँदै पुनले तयारी अवस्थाका कृषि औजार आयात गर्दा कर नलाग्ने तर स्वदेशमै उत्पादन गर्न आवश्यक कच्चा पदार्थमा चर्को कर लाग्ने विडम्बना रहेको उल्लेख गरे।
‘कच्चा पदार्थमा ठूलो कर लाग्दा स्वदेशी उत्पादन महँगो हुन्छ, जसका कारण हाम्रा उद्योगहरूले प्रतिस्पर्धा गर्न सक्दैनन्,’ उनले भने- ‘विकसित मुलुकहरूले कच्चा पदार्थमा कर लगाउँदैनन्, नेपालले पनि त्यही नीति अवलम्बन गर्नुपर्छ ।’
उनले नेपालमा व्यवस्थित पेटेन्ट कार्यालय नहुँदा नेपाली आविष्कारकहरू विदेशमा गएर आफ्नो सिर्जना दर्ता गर्न बाध्य भएको बताए। अन्तर्राष्ट्रिय स्तरमा पेटेन्ट दर्ता प्रक्रिया खर्चिलो भएकाले सरकारले त्यसमा अनुदान दिनुपर्ने उनको माग छ।
यसैगरी, उनले नयाँ उद्यमी र आविष्कारकलाई प्रारम्भिक चरणमा कर छुट दिनुपर्ने तथा अनुसन्धान र नवप्रवर्तनलाई बहुवर्षीय योजना र बजेटसँग जोड्नुपर्ने सुझाव पनि दिए।



















