काठमाडौं: भारतले लागू गरेको अनिवार्य गुणस्तर परीक्षणको नियम खुकुलो बनाएपछि १९ दिनदेखि रोकिएको नेपाली चियाको निर्यात पुनः सुचारु हुने भएको छ।
भारतीय चिया बोर्डले नयाँ ‘कोरिजेन्डम–२’ जारी गर्दै परीक्षण प्रक्रियामा परिवर्तन गरेपछि नेपाली चिया व्यवसायीले राहत महसुस गरेका हुन्।
मे १ देखि भारतले हरेक खेपको चिया अनिवार्य परीक्षण गर्नुपर्ने व्यवस्था लागू गरेको थियो। परीक्षण रिपोर्ट आउन १०–१५ दिन लाग्ने भएपछि नेपाली चिया नाकामै रोकिएको थियो। व्यवसायीहरूले यसलाई ‘अघोषित नाकाबन्दी’को संज्ञा दिएका थिए।
नेपाल सरकार, भारतस्थित नेपाली दूतावास तथा चिया व्यवसायीहरूको पहलपछि भारतीय निकायहरूबीच छलफल भएको थियो। त्यसपछि भारतले अब ‘र्यान्डम’ रूपमा मात्रै नमुना परीक्षण गर्ने निर्णय गरेको हो। तेस्रो मुलुक निर्यातका लागि भने अनिवार्य परीक्षण जारी रहनेछ।
यो अवरोधले नेपाली चिया उद्योगमा ठूलो चिन्ता सिर्जना गरेको थियो। कारखानामा लाखौँ किलो तयारी चिया थुप्रिएको र किसानको भुक्तानी प्रभावित हुने अवस्था बनेको व्यवसायीहरूले जनाएका छ्न्।
नेपालबाट वार्षिक ५–६ अर्ब रुपैयाँ बराबरको चिया भारत निर्यात हुने गर्दछ। नयाँ व्यवस्था लागू भएसँगै बुधबारदेखि नै नेपाली चियाको निर्यात सहज हुने अपेक्षा गरिएको छ।




















