काठमाडौं: उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनताको अपेक्षा पूरा गर्न नसक्ने बताएका छन्।
पार्टीको प्रथम युवा भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार सफल होस् भन्ने चाहना भए पनि हालको कार्यशैली सन्तोषजनक नभएको टिप्पणी गरेका हुन्।
उनका अनुसार जनताले परिवर्तन चाहेका छन् र त्यसका लागि पर्याप्त जनमत पनि दिएका छन्, तर सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै उनले त्यसको प्रतिवाद गर्दै जनताका समस्या समाधान गर्न आफ्नो पार्टी अघि बढ्ने बताए।
घिसिङले पुराना दलहरू विकल्प हुन नसक्ने दाबी गर्दै रास्वपाको विकल्प उज्यालो नेपाल पार्टी नै भएको जिकिर गरे। उनले आगामी स्थानीय र प्रदेश निर्वाचनमा स्पष्ट योजना बनाएर अघि बढ्ने बताए।
उनले अघिल्ला निर्वाचनमा अपेक्षित परिणाम नआए पनि त्यसलाई अनुभवका रूपमा लिएको उल्लेख गर्दै उज्यालो नेपाल पार्टी जनताको विश्वास जित्दै अघि बढिरहेको दाबी गरे।
“हामी हारेर पनि जितेका छौँ, अब हारबाट जिततर्फ अघि बढ्दैछौँ,” उनले भने। साथै पार्टी हराएको भन्ने चर्चा गलत भएको पनि उनले स्पष्ट पारे।



















