भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन सरकारको कूटनीतिक पहल जारी : अर्थमन्त्री

काठमाडौं: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताएका छन्।

नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित बजेटसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले यी विमानस्थल सञ्चालनका लागि भारत र चीनसँग कूटनीतिक पहल भइरहेको जानकारी दिएका हुन्।

उनका अनुसार हवाई मार्ग विस्तार, कनेक्टिभिटी तथा विमानस्थल व्यवस्थापनका विषयलाई सरकारले विशेष महत्व दिएको छ।
उनले परराष्ट्रमन्त्री शिशिर खनालको भारत र चीन भ्रमणका क्रममा पनि विमानस्थल सञ्चालनसँग सम्बन्धित मुद्दाहरू प्रमुख एजेन्डाका रूपमा उठाइएको बताए।

अर्थमन्त्री वाग्लेले सरकारले दुवै विमानस्थलका लागि लिइएको ऋणको दायित्व वहन गरिरहेकाले तिनलाई यथाशीघ्र प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन प्रतिबद्ध रहेको उल्लेख गरे। “पोखरा र भैरहवाको ऋण तिर्ने जिम्मेवारी सरकारकै हो। त्यसैले यी विमानस्थललाई जतिसक्दो छिटो पूर्ण सञ्चालनमा ल्याउन हामी लागिपरेका छौँ,” उनले भने।

उनका अनुसार जलस्रोत, हवाई उड्डयन, सडक पूर्वाधार लगायतका क्षेत्रमा आर्थिक कूटनीतिलाई सक्रिय बनाइएको छ। विगतमा उठाउन नसकिएका र समाधान हुन नसकेका विषयहरूमा समेत सरकारले सम्बन्धित पक्षसँग वार्ता र पहल गरिरहेको उनको दाबी छ।