काठमाडौं: शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा र खेलकुद क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि दुई खर्ब १८ अर्ब ३० करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले उक्त रकम कूल राष्ट्रिय बजेटको १०.२८ प्रतिशत रहेको जानकारी दिएका हुन्।
उनका अनुसार प्रतिशतका आधारमा बजेट केही घटे पनि रकमका हिसाबले चालु आर्थिक वर्षको तुलनामा करिब सात अर्ब रुपैयाँले वृद्धि भएको छ। मन्त्री पोखरेलले विद्यालय शिक्षामा सबैभन्दा बढी बजेट छुट्याइएको बताउँदै पूर्वाधार निर्माण, शिक्षक तालिम, प्राविधिक शिक्षा, उच्च शिक्षा तथा खेलकुद विकासलाई प्राथमिकतामा राखिएको उल्लेख गरे।
माध्यमिक तह सञ्चालन भएका सबै सामुदायिक विद्यालयमा स्मार्टबोर्ड जडानका लागि एक अर्ब सात करोड रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिए।
प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिइएको छ। यस्तै, बजारको मागअनुसार सीप विकास तालिम सञ्चालन गर्न र शैक्षिक पूर्वाधार सुदृढीकरणका लागि पनि बजेट व्यवस्था गरिएको मन्त्री पोखरेलले बताए।
उनले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनको काम अघि बढाइएको जानकारी दिँदै गुणस्तरीय शिक्षा, अनुसन्धान र प्राविधिक शिक्षाको विस्तारमा सरकार केन्द्रित रहेको बताए। विद्यार्थी सङ्ख्या न्यून भएका विद्यालयको पुनःसंरचना गरिने भए पनि कुनै पनि बालबालिकाको शिक्षाको अधिकार प्रभावित हुन नदिने उनको भनाइ थियो।
अपाङ्गता भएका बालबालिकाका लागि आवासीय छात्रवृत्ति, डिजिटल पाठ्यसामग्री तथा विशेष विद्यालय सञ्चालन कार्यक्रमलाई निरन्तरता दिइएको छ।
साथै, प्रत्येक प्रदेशमा बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि आवासीय विद्यालय सञ्चालन गर्न बजेट व्यवस्था गरिएको मन्त्री पोखरेलले जानकारी दिए।
खेलकुद क्षेत्रतर्फ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगद पुरस्कार तथा सम्मानको व्यवस्थालाई निरन्तरता दिइएको उनले बताए।



















