काठमाडौं: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले हाल देशभर करिब १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जनाएको छ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार केन्द्रीय, प्रादेशिक तथा जिल्लास्तरीय अस्पतालका भण्डारमा हाल १० हजार ११ भायल खोप उपलब्ध छ।
मन्त्रालयले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सहयोगमा दुई हजार ५०० भायल एन्टि–रेबिज खोप प्राप्त गरिसकेको जनाएको छ।
साथै, थप चार हजार ५०० भायल खोप आगामी केही दिनभित्र प्राप्त हुने सुनिश्चित भएको सहप्रवक्ता अधिकारीले जानकारी दिए। उनका अनुसार देशभर रेबिज रोकथाम तथा उपचार सेवाको निरन्तरता सुनिश्चित गर्न मन्त्रालयले सम्बन्धित निकायहरूसँग समन्वय गर्दै आवश्यक पहल अघि बढाइरहेको छ। उपलब्ध खोपको प्रभावकारी वितरण तथा व्यवस्थापनमार्फत सेवा प्रवाहमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले निरन्तर समन्वय भइरहेको मन्त्रालयको भनाइ छ।
मन्त्रालयले स्थानीय तहहरूलाई कुकुर तथा अन्य जनावरको टोकाइ व्यवस्थापन गर्न र आवश्यक खोप सेवा सहज रूपमा उपलब्ध गराउन पनि अनुरोध गरेको छ।
सहप्रवक्ता अधिकारीका अनुसार काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा मात्रै करिब ४० दिनका लागि पुग्ने एन्टि–रेबिज खोप मौज्दात रहेको छ।
स्वास्थ्य सेवा विभागमार्फत नियमित खरिद प्रक्रिया सम्पन्न भएपछि एन्टि–रेबिज खोपको आपूर्ति प्रणाली पूर्ण रूपमा नियमित हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।



















