जनकपुरधामबाट पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

काठमाडौं: धनुषाको जनकपुरधा उपमहानगरपालिका–९ थापा चोकस्थित एक होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा होटलमा पुगेका दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मुखियापट्टि मुसहरनियाँ गाउँपालिका–४ का २० वर्षीय अमन यादव र हंसपुर नगरपालिका–६ सोनीगामाका १८ वर्षीय सुधिर मुखिया रहेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार होटलमा खाना खान आएका उनीहरूसँग हतियार रहेको सूचनापछि गरिएको खानतलासीका क्रममा एक थान पेस्तोल, एउटा म्यागजिन, ९ एमएमको एक राउन्ड गोली तथा ७.६५ एमएमका तीन राउन्ड गोली बरामद गरिएको हो।

पक्राउ परेका दुवै जनामाथि हतियार सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।