नेताले आफ्ना विद्यालय राम्रो बनाउन लाग्नुपर्ने: शंकर पोखरेल

काठमाडौं: नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले शिक्षकहरूको नेतृत्वमा बस्ने नेताले आफ्ना विद्यालय पनि राम्रो बनाउन लाग्नुपर्ने बताएका छन् ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बुधबार नेपाल शिक्षक महासङ्घले आयोजना गरेको धर्ना कार्यक्रममा महासचिव पोखरेलले नेताले आफ्ना विद्यालय पनि राम्रो बनाउन लाग्नुपर्ने बताएका हुन् ।

उनले भने-‘नेताहरूले जिम्मा लिएका विद्यालय राम्रा बनाउनु पर्छ, यसबाट अरूले पनि पाठ सिक्छन्’ ।

महासचिव पोखरेलले परम्परागत शिक्षा प्रणालीलाई उद्यमशीलता र जीवन जिउने शिक्षामा परिवर्तन गराउनुपर्ने धारणा पनि व्यक्त गरे। उनले नेपालको शिक्षाले सीपयुक्त र व्यावहारिक जनशक्ति उत्पादन गर्नुपर्ने बताउँदै शिक्षाले कर्तव्यसहितको जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए ।

साथै उनले नेपालमा राजनीतिक दलले शिक्षामा समस्या ल्याएको भन्ने गलत प्रचार गरिएको जिकिर समेत गरे । उनले शिक्षा क्षेत्रमा भएको विकास राजनीतिको योगदानले नै भएको भन्ने कुरा बिर्सन नहुने समेत उनले बताए ।

उनले शिक्षा ऐन अहिलेकै संसद्को अधिवेशनबाट जारी गर्नेगरी सरकारले काम अगाडि बढाएको जानकारी गराए।

‘राज्यले शिक्षकको मागलाई ध्यानमा राखेर, संविधानको भावनालाई आत्मासात गर्दै शिक्षा ऐन जारी गर्छ, यो विषयलाई यही सदनमा टुङ्ग्याउन पाएहुन्थ्यो भनेर हामी आफैँ लागिरहेका छौँ’, उनले भने ।

महासचिव पोखरेलले शिक्षा ऐनमा समेट्ने विषयमा एकमत बनाउन लागि शिक्षक महासङ्घको सहयोग पनि आवश्यक रहेको समेत उनले बताए ।