काठमाडौ: धितोपत्र दोस्रो बजारमा नयाँ व्यवस्था लागु भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन) गरेसँगै बिहीबारदेखि नयाँ व्यवस्था लागु हुने भएको हो ।
बुधबार कुनै कम्पनीको सेयर कारोबारको अन्तिम १५ मिनेटको भारित औसत मूल्यलाई अन्तिम मूल्य तोकिने भएको छ ।
हालसम्म अन्तिममा भएको कारोबारलाई नै अन्तिम मूल्य कायम गर्ने व्यवस्था थियो । जसले गर्दा सेयर कारोबारीहरूले आफ्नो सेयरको मूल्य बढाउन १० कित्ता सेयरले मूल्य प्रभावित पार्दै आएका थिए ।
अब भने २ः४५ देखि ३ बजेसम्म हुने कारोबार अवधिको औसत मूल्यलाई आधार मानिने भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार २ः४५ देखि ३ बजेको बीचमा भएको कारोबार कित्ता र सेयर मूल्यको औसत निकालेर अन्तिम मूल्य निर्धारण गरिनेछ ।
यसले अन्तिममा मूल्य बढाउने खेललाई बन्द गर्ने पराजुली बताउँछन् । तर, २ः४५ देखि ३ बजेसम्म कारोबार नहुँने कम्पनीको सेयर मूल्य भने त्यसअघिको अन्तिम मूल्यलाई नै मान्यता दिने पनि नेप्सेले बताएको छ ।
नेपाल धितोपत्र बोर्डले फागुन १५ गते नेप्सेमा यो विनियमावली स्वीकृत गरेर पठाएको थियो । नेप्सेले परीक्षण गर्दा चैत ७ गतेबाट यो नियम लागु गर्न सकिएको जनाएको छ।


















