राष्ट्रपति पौडेलले गरे निर्माणाधीन संसद् भवनको अवलोकन, सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष दाहाललगायतका अधिकारीहरू सहभागी

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन संसद् भवनको अवलोकन गरेका छन् । सोमबार राष्ट्रपति पौडेलले सिंहदरबार परिसरमा निर्माणाधीन संसद् भवनको अवलोकन गरेका हुन् । राष्ट्रपति पौडेलसँग सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललगायतका संसद् सचिवालयका अधिकारीहरू पनि सहभागी थिए । २०७९ को प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो संसद् बैठक बस्ने लक्ष्यसहित सिंहदरबारमा निर्माण थालिएको संसद् भवन अझै बनिसकेको छैन । २०७९ असोज १६ सम्म निर्माणको काम सक्ने भन्दै ०७६ असोज १६ मा यसको ठेक्का सम्झौता भएको थियो । तर अहिलेसम्म निर्माणसम्पन्न भएको छैन । तोकिएको समयमा काम नसकिएपछि चौथोपटक ०८१ चैत १८ सम्मका लागि गत असारमा म्याद थप गरिएको हो ।