काठमाडौं महानगरपालिकाका कर्मचारीले दिए आन्दोलनमा उत्रिने चेतावनी

काठमाडौं: स्थानीय तह कर्मचारी संघले काठमाडौं महानगरपालिकाका कर्मचारीहरूलाई एक साताभित्र तलब नदिए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

संघका केन्द्रीय अध्यक्ष नारायणप्रसाद शर्माले एक विज्ञप्तिमार्फत महानगरका मेयर बालेन शाहलाई लक्षित गरेर थप समस्या सिर्जना खोजिएको बताएका छन् ।

कर्मचारीको समस्या एक हप्ताभित्र समाधान नगरे कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने संघको चेतावनी छ । आन्दोलनबाट सिर्जित परिणामको जिम्मेवार महानगर नै हुनुपर्ने संघको चेतावनी छ ।

“सम्बन्धित पक्षसँग समन्वयात्मक तवरले समस्याको निकासका लागि पहल गनुपर्नेमा झनै समस्या लम्ब्याउने तवरले सामाजिक सञ्जालको माध्यमबाट उच्छृंखल, अवाञ्छित एवं उत्तेजित शब्दावली प्रयोग गरी थप समस्याको सिर्जना गर्न उद्धत देखिनुले समस्या हल गर्नतर्फ होइन, आ-आफ्नो दम्भ प्रदर्शन गर्नतर्फ अग्रसर देखिन्छ,” विज्ञप्तिमा भनिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरका कर्मचारीहरूले तीन महिनादेखि तलब पाएका छैनन् । अरू प्रशासनिक काम पनि ठप्प छन् ।