काठमाडौँ: बुढानीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम निर्माणका लागि विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल तथा अन्तरक्रिया गरेको छ।
आज बुढानीलकण्ठ नगरपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलका स्थानीय नेता तथा प्रतिनिधिहरूको सहभागीता रहेको थियो।
छलफलका क्रममा सहभागीहरूले नगरको दिगो विकास, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पूर्वाधार निर्माणको सुधार गर्न आवश्यक भएको औलाएका थिए। साथै उनीहरूले नगरको अव्यवस्थित शहरीकरण नियन्त्रण, खानेपानीको दीर्घकालीन समाधान र वातावरणीय संरक्षणमा विशेष ध्यान पनि सुझाव दिएका थिए।
कार्यक्रममा नगर प्रमुख, प्रमुख मिठाराम अधिकारीले आगामी वर्षको नीति तथा कार्यक्रमलाई प्रभावकारी बनाउन जनमुखी, पारदर्शी र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरे। साथै, उनले विकासका योजनाहरू समयमै सम्पन्न गर्न नगरपालिकाका संबेदनसिल भएर अगाडि बढ्ने बताए।
यसैगरी,कार्यक्रममा सहभागीले बुढानीलकण्ठ नगरपालिकाले हालै ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ प्राप्त गरेकोमा नगर नेतृत्व र कर्मचारी प्रशासनलाई बधाई तथा शुभकामना प्रदान गरेका थिए।



















