काठमाडौं: रुसले आइतबार बिहान युक्रेनको राजधानी किभमा ठूलो ब्यालिस्टिक मिसाइल तथा ड्रोन आक्रमण गरेको छ।
पूर्वी युक्रेनस्थित रुसी नियन्त्रण क्षेत्रमाथि भएको युक्रेनी आक्रमणको बदला स्वरूप रुसले किभमा आक्रमण तीव्र बनाएको बताइएको छ।
युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणमा परी कम्तीमा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये एक जनालाई अस्पताल भर्ना गरिएको किभका मेयर भिटाली क्लित्स्को ले जानकारी दिएका छन्। उनले ड्रोन आक्रमण अझै जारी रहेको र थप मिसाइल प्रहारको खतरा कायम रहेकाले नागरिकलाई सुरक्षित आश्रयस्थलमै बस्न आग्रह गरेका छन्।
आक्रमणका क्रममा राजधानीका विभिन्न क्षेत्रमा विस्फोटको आवाज सुनिएको थियो। सरकारी आवासीय भवनहरू थर्किएका थिए भने सर्वसाधारण भूमिगत मेट्रो स्टेशनमा शरण लिन पुगेका थिए। किभ सैन्य प्रशासन प्रमुख तिमुर तकाचेन्को ले राजधानीमा ठूलो मात्रामा ब्यालिस्टिक मिसाइल प्रहार भएको बताएका छन्।
मेयर क्लित्स्कोका अनुसार किभको पोडिल्स्की जिल्लाको गैर–आवासीय क्षेत्रमा मिसाइलका भग्नावशेष खसेपछि त्यहाँ मेडिकल टोली परिचालन गरिएको थियो। त्यस्तै, शेभचेन्किभ्स्की जिल्लामा एक आवासीय भवन नजिक आगलागी समेत भएको जनाइएको छ।
यसअघि रुसले आफ्नो नियन्त्रणमा रहेको पूर्वी युक्रेन क्षेत्रमा भएको घातक आक्रमणका जिम्मेवारलाई कडा कारबाही गर्ने चेतावनी दिएको थियो। त्यसपछि युक्रेनी अधिकारी तथा किभस्थित अमेरिकी दूतावासले राजधानीमा ठूलो आक्रमण हुन सक्ने चेतावनी जारी गरेका थिए।
रुसका अनुसार हालै युक्रेनले गरेको ड्रोन आक्रमणमा पूर्वी क्षेत्रमा रहेको एक कलेजको छात्रावासमा प्रहार हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको थियो। उक्त आक्रमण पछिल्ला केही महिनामध्ये सबैभन्दा घातक मानिएको छ। लुहान्स्क क्षेत्रको स्टारोबिल्स्कमा ४२ जना घाइते भएको र धेरै मानिस भग्नावशेषमा फसेको रुसको दाबी छ।
युक्रेनले भने नागरिकमाथि आक्रमण गरेको आरोप अस्वीकार गर्दै आफूहरूले स्टारोबिल्स्क क्षेत्रमा तैनाथ रुसी ड्रोन युनिटलाई निशाना बनाएको अन्तरास्ट्रिय संचारमाध्यमले बताएका छ्न्।


















