काठमाडौं: सभापति रवि लामिछानेले नेपाल र भारतबीचको सम्बन्धलाई केवल दुई राष्ट्रबीचको सम्बन्धका रूपमा नभई साझा सभ्यता, संस्कृति र आस्थाले जोडिएको सम्बन्धका रूपमा व्याख्या गरेका छन्।
पाँचदिने भारत भ्रमणमा रहेका लामिछानेले भारतीय दैनिक हिन्दुस्तान टाइम्समा प्रकाशित आफ्नो लेखमार्फत नेपाल–भारत सम्बन्धलाई नयाँ दृष्टिकोणबाट अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका हुन्।
उनले जनकपुर र अयोध्याको सम्बन्धले रामायणको गाथालाई पूर्णता दिने तथा पशुपतिनाथ र केदारनाथबीचको धार्मिक सम्बन्धले दुवै देशका जनताको आस्थालाई अझ सुदृढ बनाउने उल्लेख गरे।
उनले नेपालले अब आफ्नो विदेश नीतिलाई नयाँ ढंगले परिभाषित गर्नुपर्ने समय आएको बताएका छन्। विगतका विवाद र शत्रुतामा अल्झिनुभन्दा भविष्यका सम्भावनामा केन्द्रित हुनुपर्ने उनको भनाइ छ।
उनले नेपाल र भारतबीच जनस्तरमा बलियो सम्बन्ध रहे पनि अघिल्ला नेतृत्वका साना सम्झौता वा मौन समझदारीमा आफूहरू अल्झिन नचाहेको उनले स्पष्ट पारेका छन्।
लामिछानेले नेपालले भारत र विश्वलाई खुला सोच, स्पष्ट दृष्टिकोण र पारदर्शी एजेन्डासहित हेर्ने उल्लेख गर्दै देशको आर्थिक रूपान्तरणलाई प्राथमिकतामा राख्ने बताएका छन्।
उनले आफ्ना कमजोरी लुकाएर बस्ने पक्षमा आफूहरू नरहेको पनि उल्लेख गरेका छन्। सम्बन्धले विगतमा के हासिल गर्यो भन्नेभन्दा पनि भविष्यमा के सम्भव छ भन्ने विषयमा ध्यान केन्द्रित गर्दै नेपाल–भारत सम्बन्धलाई नयाँ आधारमा अघि बढाउनुपर्नेमा जोड दिन बताएका छन्।
रवि लामिछाने सोमबारदेखि पाँचदिने भारत भ्रमणमा छन्।




















