काठमाडौं: स्वास्थ्य बीमा बोर्डले सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक सेवाअन्तर्गत उपचार गरी भुक्तानी दाबी पेश गरे भुक्तानी नहुने स्पष्ट पारेको छ।
बोर्डले जेठ १८ गते जारी गरेको सूचनामा सामान्य बिरामीलाई आकस्मिक सेवामा राखेर गरिएको दाबीको भुक्तानी नहुने बोर्डले स्पष्ट पारेको हो।
बोर्डले जारी गरेको सूचनामा आकस्मिक उपचार आवश्यक पर्ने बिरामीलाई मात्र स्वास्थ्य बीमाअन्तर्गत आकस्मिक सेवा उपलब्ध गराउनुपर्ने उल्लेख गरेको छ।
सूचनाअनुसार बिरामीको स्वास्थ्य अवस्था आकस्मिक उपचार आवश्यक पर्ने देखिएमा मात्र आकस्मिक स्वास्थ्य सेवा दिन सकिनेछ। यस्ता बिरामीलाई उपचारका क्रममा भर्ना गर्नुपर्ने वा शल्यक्रिया आवश्यक परेमा उपचार पद्धतिअनुसार उपचार गरी डिस्चार्ज गर्न सकिने व्यवस्था छ।
बोर्डले सेवाग्राहीलाई पनि नियमको पालना गर्न आग्रह गरेको छ। साथै, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई अनुचित दबाब नदिन समेत अनुरोध गरेको छ।
स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन र आकस्मिक सेवाको दुरुपयोग रोक्न बोर्डले यस्तो व्यवस्था लागू गरेको जनाएको छ।





















