काठमाडौं: गृहमन्त्री सुधन गुरुङ ले नारायणहिटी दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने निर्णय गरेका छन्।
मंगलबार साँझ गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले आफ्नो पहिलो चार निर्णयमध्ये २०५८ सालमा भएको नारायणहिटी दरबार हत्याकाण्डको अनुसन्धान अगाडि बढाउने निर्णय सार्वजनिक गरेका हुन्।
पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले लामो समयदेखि चर्चामा रहेको उक्त घटनाबारे तथ्यगत अध्ययन र अनुसन्धानलाई अघि बढाइने बताए।
२०५८ जेठ १९ गते नारायणहिटी दरबारभित्र भएको हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य शाह सहित राजपरिवारका सदस्यहरूको ज्यान गएको थियो। उक्त घटनाको छानबिनका लागि तत्कालीन समयमा आयोग गठन गरिएको भए पनि घटनाबारे विभिन्न प्रश्न र आशंकाहरू समय–समयमा उठ्दै आएका छन्।
गृहमन्त्रीको पछिल्लो निर्णयसँगै दरबार हत्याकाण्ड सम्बन्धी अनुसन्धान पुनः अघि बढ्ने संकेत देखिएको छ। यद्यपि अनुसन्धानको स्वरूप, कार्यविधि र समयसीमाबारे गृह मन्त्रालयले विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।




















