भारत भ्रमणमा सीमा विवाद ओझेलमा परेको खुश्बु ओलीको आरोप

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले परराष्ट्रमन्त्रीको भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा विवादको विषय प्रभावकारी रूपमा नउठाइएको आरोप लगाएकी छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले भारत भ्रमणपछि जारी गरिएको प्रेस विज्ञप्ति र प्रेस नोटमा सीमा विवादबारे एक शब्द पनि उल्लेख नभएको दाबी गरिन्। उनका अनुसार भ्रमण सकिएपछि दिल्लीमा पत्रकारहरूसँगको अनौपचारिक कुराकानीमा सीमा सम्बन्धी विषय उठाइए पनि औपचारिक दस्तावेजमा त्यसको प्रतिबिम्ब देखिएको छैन।

ओलीले संसद्मा पनि परराष्ट्रमन्त्रीले सीमा विवादभन्दा ‘सीमा व्यवस्थापन’ सम्बन्धी नियमित विषयमा मात्र कुरा गरेको बताइन्। जङ्गे पिल्लरको व्यवस्थापन तथा सीमा सम्बन्धी बैठकहरू नियमित प्रक्रिया भए पनि नेपाली नक्सा र भूभागसँग जोडिएको विवाद फरक र संवेदनशील विषय भएको उनको भनाइ थियो।

विगतका वर्षहरूमा नेपालले जारी गर्ने प्रेस विज्ञप्तिहरूमा सीमा सम्बन्धी विषय समेटिने गरेको उल्लेख गर्दै उनले यसपटक उक्त विषय हटाइएको दाबी गरिन्। उनले यसलाई गम्भीर कूटनीतिक कमजोरीको रूपमा व्याख्या गरिन्। ओलीले भारत भ्रमणमा परराष्ट्र सचिव सहभागी नभएको विषयलाई पनि चासोको विषय भएको बताइन्।

त्यस्तै, परराष्ट्रमन्त्रीको आगामी चीन भ्रमणतर्फ संकेत गर्दै उनले कालापानी, लिपुलेक र लिम्पियाधुराबारे नेपालले स्पष्ट र दृढ अडान राख्नुपर्ने बताइन्। दिल्लीमा सञ्चारमाध्यमसमक्ष व्यक्त गरिएका धारणा अब कूटनीतिक तहका औपचारिक छलफलमा पनि प्रस्तुत हुनुपर्ने उनको भनाइ थियो।

साथै, उनले अर्थमन्त्रीले संसद् र पत्रकारहरूप्रति गरेको टिप्पणीप्रति असन्तुष्टि जनाउँदै त्यसलाई खेदजनक भएको बताइन्।