हुम्ला: हुम्लाको सर्केगाड गाउँपालिका अन्तर्गत पर्ने थाग्णा क्षेत्रमा कर्णाली करिडोरमाथिबाट खसेको ढुङ्गा लागेर एक किशोरीको ज्यान गएको छ।
मृत्यु हुनेमा सर्केगाड गाउँपालिका–४ गैरीसाँयाकी १५ वर्षीया पवित्रा साउद रहेकी छन्। उनी शुक्रबार बिहान गाईगोरु चराउन नजिकैको जङ्गल गएकी थिइन्।
बिहान करिब १०ः३० बजे कर्णाली करिडोरको माथिल्लो भागबाट अचानक खसेको ढुङ्गा लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलका अनुसार घटनाको जानकारी बिहान ११ः५० बजे प्रहरी चौकी सर्केगाडमा पुगेपछि प्रहरी हबल्दार गोबर्द्धन परियारको नेतृत्वमा चार सदस्यीय टोली घटनास्थलमा खटिएको थियो।
घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक जङ्गबहादुर सिंहको नेतृत्वमा अर्को प्रहरी टोली पनि घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ।
कर्णाली करिडोर आसपासका भिरालो क्षेत्रमा बर्सेनि ढुङ्गा खस्ने जोखिम रहने गरेको छ। पछिल्लो घटनाले सडकमाथिका जोखिमयुक्त भिरहरूको व्यवस्थापन, नियमित अनुगमन तथा स्थानीय बासिन्दा र यात्रुको सुरक्षाका लागि प्रभावकारी उपाय अपनाउनुपर्ने आवश्यकता पुनः उजागर गरेको छ। स्थानीयवासीले यस्ता दुर्घटना दोहोरिन नदिन सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गराएका छन्।




















