नयाँ पुस्तामा जनै बनाउने सीप हस्तान्तरण गर्न अभियान

काठमाडौंं: पाल्पामा हराउँदै गएको जनै बनाउने परम्परागत सीप संरक्षण गर्न युवापुस्तालाई तालिम दिन थालिएको छ।

पछिल्लो समय नयाँ पुस्ताले जनै बनाउन चासो नदेखाउँदा गाउँघरबाट यो सीप लोप हुने अवस्थामा पुगेपछि स्थानीय तहले संरक्षण अभियान सुरु गरेको हो।

तानसेन नगरपालिका–२ को आर्थिक सहयोगमा सञ्चालन गरिएको तालिममा विद्यार्थी, महिला र पुरुष गरी ४० जना सहभागी छन्। तालिममार्फत जनै बनाउने सीप नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रयास गरिएको छ।

नयाँ पुस्ताले जनै बनाउन सिक्न थालेपछि पुरानो पुस्ता उत्साहित बनेका छन्। तानसेनका ७५ वर्षीय बेद बस्यालले जनैको महत्वबारे युवापुस्ताले बुझ्न थालेकाले लोपोन्मुख संस्कृतिलाई जोगाउने आशा जागेको बताए। बराङ्गदीका हरी घिमिरेले पनि युवाको सहभागिताले परम्परागत संस्कृति संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

यसैगरी, वडा अध्यक्ष महेशलाल श्रेष्ठले तागाधारी समुदायको पहिचानसँग जोडिएको जनै संस्कृतिको संरक्षणका लागि अभियानकै रूपमा तालिम सञ्चालन गरिएको जानकारी दिए। उनका अनुसार यसले संस्कृतिको जगेर्नासँगै स्थानीय स्तरमा रोजगारी र आयआर्जनको अवसर पनि सिर्जना गर्न सक्छ।

स्थानीयका अनुसार पाल्पामा करिब १५ वर्षअघिसम्म गाउँगाउँमा जनै बनाउने चलन रहे पनि अहिले यो प्रचलन घट्दो क्रममा छ। युवापुस्तालाई सीप सिकाएर परम्परालाई निरन्तरता दिन आवश्यक रहेको स्थानीय  बताउँछ्न्।

स्थानीय उत्पादन घट्दै जाँदा हरेक वर्ष विदेशबाट करोडौँ रुपैयाँ बराबरको जनै आयात हुने गरेको छ। परम्परागत रूपमा ब्रह्मागाँठो पारेर बनाइने जनै हिन्दू संस्कृतिमा विशेष धार्मिक महत्व बोकेको मानिन्छ।