चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत सोमबार बिहान निर्धारित समयमा सुरु हुने भनिएको बन्दसत्र ढिलो भएको छ।
प्रतिनिधिहरूको नामावलीमा देखिएका त्रुटि सच्याउने काम जारी रहेकाले बन्दसत्र समयमै सुरु हुन नसकेको हो।
आइतबार सार्वजनिक गरिएको करिब ४ हजार प्रतिनिधिको प्रारम्भिक नामावलीमा विभिन्न त्रुटि देखिएपछि प्रतिनिधिहरूले विवरण सच्याउन निवेदन दिइरहेका छन्।
बन्दसत्र सोमबार बिहान साढे ८ बजेदेखि सुरु गर्ने कार्यतालिका रहे पनि नामावली सच्याउने प्रक्रिया जारी रहेकाले कार्यक्रम प्रभावित भएको बताइएको छ। बन्दसत्रस्थल वरपर प्रतिनिधिहरूको उल्लेख्य भीड देखिएको छ।
बन्दसत्रमा केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव, सांगठनिक तथा राजनीतिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदनमाथि छलफल तथा प्रस्तुति हुने कार्यक्रम रहेको छ।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगले नयाँ नेतृत्व चयनका लागि असार ८ र ९ गतेको निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ। निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार औपचारिक निर्वाचन प्रक्रिया सोमबार दिउँसो १ बजेदेखि सुरु गर्ने तयारी गरिएको छ।
महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै भावी राजनीतिक कार्यदिशाबारे महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ।



















