विश्वकप २०२६ : मेसीको पेनाल्टी रोक्दै इजिप्टले अर्जेन्टिनाविरुद्ध बनायो अग्रता

काठमाडौं: फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ अन्तर्गतको खेलमा इजिप्टले साविक विजेता अर्जेन्टिनाविरुद्ध अग्रता बनाएको छ।

अमेरिकाको एटलान्टा स्टेडियममा भइरहेको खेलको पहिलो हाफ सकिँदा इजिप्ट १–० ले अघि रहेको छ।
इजिप्टका यासर इब्राहिमले खेलको १५औँ मिनेटमा हेडरमार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका हुन्। उनले उत्कृष्ट हेडरमार्फत अर्जेन्टिनाका गोलरक्षकलाई छक्याउँदै बललाई जाली चुमाएका थिए।

अर्जेन्टिनाले बराबरी गर्ने अवसर पाएको थियो। खेलको २१औँ मिनेटमा प्राप्त पेनाल्टीमा कप्तान लियोनल मेसीले गोल गर्ने प्रयास गरे पनि उनको प्रहार सफल हुन सकेन। इजिप्टका गोलकिपर मुस्तफा शोबिरले मेसीको पेनाल्टी उत्कृष्ट बचाउ गर्दै अर्जेन्टिनालाई निराश पारे।

त्यसपछि पनि अर्जेन्टिनाले लगातार आक्रमण गरे पनि इजिप्टका गोलरक्षक शोबिरले उत्कृष्ट प्रदर्शन गर्दै धेरै प्रहार रोकेका छन्।

बल नियन्त्रण र आक्रमणमा अर्जेन्टिना अघि देखिए पनि इजिप्टले बलियो रक्षात्मक खेल प्रदर्शन गर्दै पहिलो हाफमा महत्वपूर्ण अग्रता कायम राखेको छ।