प्रधानमन्त्रीले संसद्मा आएर जवाफ दिनुपर्ने एमाले सांसद राईको माग

काठमाडौं: नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले प्रधानमन्त्रीले प्रतिनिधिसभामा उपस्थित भएर संसद्मा उठेका विषयमा स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीले संसद्को रोस्ट्रमबाट व्यक्त गरेका धारणाप्रति प्रतिपक्षी दलले निरन्तर असहमति जनाउँदै आएको उल्लेख गर्दै सभामुखमार्फत प्रधानमन्त्रीलाई सदनमा बोलाएर जवाफ दिन व्यवस्था मिलाउन आग्रह गरे।

‘यो जनताले निर्वाचित गरेर पठाएका प्रतिनिधिहरूको सदन हो। नियमावलीले पनि प्रधानमन्त्रीलाई संसद्मा उपस्थित भएर उठेका विषयमा जवाफ दिनुपर्ने व्यवस्था गरेको छ,’ उनले भने।

राईले गाउँघरमा बढ्दो बाँदर आतंकप्रति सरकारको ध्यानाकर्षण गराउँदै बाँदर नियन्त्रणका लागि गठन गरिएको कार्यदलले हालसम्म गरेको कामबारे सदनलाई जानकारी गराउन माग गरे। सरकारले समयमै प्रभावकारी कदम नचाले समस्या थप गम्भीर बन्न सक्ने उनको भनाइ थियो।

उनले बेलायत र हङकङमा रहेका पूर्वसैनिक नेपालीलाई लक्षित गरी केही गिरोह सक्रिय रहेको दाबी गर्दै यस्ता गतिविधि रोक्न सरकारले आवश्यक पहल गर्नुपर्ने बताए।

बैठकका क्रममा आफ्नो भनाइ राख्ने क्रममा सभामुखले माइक बन्द गरिदिएको भन्दै राईले असन्तुष्टि व्यक्त गरे। आफूले मर्यादित भाषा प्रयोग गर्ने प्रयास गरिरहेकै अवस्थामा बोल्ने अवसर खोसिएको उनको गुनासो थियो।

सभामुखप्रति सम्मान व्यक्त गर्दै उनले सांसदहरूलाई आफ्ना विचार र धारणा राख्ने पर्याप्त अवसर उपलब्ध गराउनुपर्नेमा जोड दिए। संसद्मा देखिने विवाद र असहमतिलाई संवाद र सहमतिका माध्यमबाट समाधान गर्नुपर्ने उनको भनाइ थियो।

राईले प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर जवाफ नदिएसम्म प्रतिपक्षको आन्दोलन जारी रहने चेतावनीसमेत दिए।