काठमाडौँ: काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार आत्मदाहको प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ।
प्रहरीका अनुसार आत्मदाह प्रयास गर्ने व्यक्ति मुगु जिल्लाको सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपाली हुन्।
बिहीबार दिउँसो करिब १:४५ बजे काठमाडौँ महानगरपालिका–११, त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेट नजिकै नेपालीले आत्मदाहको प्रयास गरेका थिए।
प्रहरीका अनुसार उनले मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएपछि आगो लगाएका थिए। घटनापछि तत्कालै उद्धार गरी उनलाई उपचारका लागि वीर अस्पताल पुर्याइएको थियो।
हाल उनको वीर अस्पतालमा उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार उनको अवस्था गम्भीर रहेको छ भने शरीरका विभिन्न भागमा जलेको चोट लागेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार घाइते नेपाली बोल्न सक्ने अवस्थामा छन्। घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


















