हरेक वर्ष नेपालमा ब्रेन ट्यूमरका बिरामी बढ्दो

जुन महिनाभर वीर अस्पतालले ब्रेन ट्युमरको नि:शुल्क शल्यक्रिया

काठमाडौ: आज जुन ८ अर्थात विश्व ब्रेन ट्यूमर दिवस । ब्रेन ट्यूमर बारेमा जनचेतना बढाउने उदेश्यले हरेक वर्ष जुन ८ तारिख यो दिवस मनाइने गरिन्छ ।

यो वर्ष सबै उमेरका लागि मस्तिष्क स्वास्थ्य भन्ने नारा सहित दिवस मनाएको हो ।

वीर अस्पतालको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रले ब्रेन ट्युमर बारे सचेतना बढाउने उदेश्यले आज काठमाडौंंमा प्रभातफेरी तथा बिशेष कार्यक्रम आयोजना गरेको थियो ।

साथै, जुन महिनाभर वीर अस्पताल राष्ट्रिय ब्रेन ट्युमर केन्द्रले गत वर्ष जस्तै यो वर्ष पनि ब्रेन ट्युमरका बिरामीहरुको नि:शुल्क शल्यक्रिया गर्ने भएको छ ।

विश्व ब्रेन ट्यूमर दिवस बिशेष कार्यक्रममा राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष तथा वीर अस्पतालको न्युरोसर्जरी बिभागका प्रमुख प्राडा राजीव झाले पछिल्लो केही वर्ष यता नेपाल सहित विश्वभर ब्रेन ट्युमरका बिरामी बढेको बताए । उनले अन्य मुलुकमा ब्रेन ट्युमर बारे यकिन तथ्यांक भए पनि नेपालमा यकिन तथ्यांक नहुनु दुर्भाग्य भएको बताए । तर  उनले नेपालमा १ लाखमा मनिसमा ५ जनालाई ब्रेन ट्युमर देखिने गरेको अनुमान गरिएको बताए ।

यसैगरी, कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले ब्रेन ट्युमर केन्द्रलाई देशकै उत्कृष्ट केन्द्रका रुपमा विकास र बिस्तार गर्न आफू तत्पर रहेको बताए । उनले वीर अस्पताल सरकारले बढी लगानी गरेको अस्पताल भएता पनि सो लगानी पनि पुर्ण नभएको धारणा व्यक्त गरे । साथै ब्रेन ट्युमर लगाएत अन्य रोग उपचारमा  जोड दिनु भन्दा निरोगी नेपाल अवधारणा अवलम्बन गर्न आवश्यकता रहेको पनि औलाए ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति भुपेन्द्र कुमार बस्नेतले नेपालमा न्यूरो सर्जरीको सुरुवात नै वीर अस्पतालमा भएको बताए । उनले वीर अस्पतालमा न्यूरो सर्जरी सेवा प्रदान गर्दै आएको २५ वर्ष भएको तथा  अस्पतालले १८ देखि २० जना न्युरो सर्जन उत्पादन अस्पताल गर्न सफल भएको पनि जानकारी गराए ।

कार्यक्रममा राष्ट्रिय ब्रेन ट्युमर केन्द्रले नेपालमा ब्रेन ट्युमरको अवस्था बारे तथ्यांक पनि सार्वजनिक छ । सार्वजनिक गरेको तथ्यांक अनुसार ब्रेन ट्युमर धेरै देखिनेमा औसत उमेर ४६/३२ वर्ष रहेको छ। साथै, देशभरका २० भन्दा बढी न्युरोसर्जिकल केन्द्रहरूबाट मस्तिष्क ट्युमर भएका १ हजार ७ सय ३९ जना बिरामीहरूको तथ्याङ्क सङ्कलन गरिएको छ। प्राप्त तथ्याङ्कका आधारमा नेपालमा हरेकवर्ष करिब २ हजार ५०० देखि २ हजार ६०० नयाँ मस्तिष्क ट्युमरका बिरामीहरू पहिचान हुने अनुमान केन्द्रको छ । त्यस्तै, कुल २.२ करोड जनसङ्ख्या अनुसार यसको आवधिक्ता लगभग ११.४- ११.८ प्रति १ लाख जनसङ्ख्या रहेको देखिएको ।

ब्रेन ट्यूमर मस्तिष्कमा असामान्य तन्तुहरु वृद्धि हुनु हो । तर सबै ब्रेन ट्यूमर घातक अथवा क्यान्सरको कारण भने नहुने चिकित्सक बताउँछन् ।

चिकित्सकका अनुसार, ब्रेन ट्यूमर एक सय प्रकारका हुने गर्दछ । यी मध्ये नेपालमा सबै प्रकारका ब्रेन ट्यूमर देखिने गरेको विशेषज्ञ चिकित्सकहरुको भनाइ छ ।

ब्रेन ट्यूमरको लक्षणहरुमा टाउको दुख्नु ५८ प्रतिशत , बान्ता हुनु ६३ प्रतिशत रहेका छन। साथै अन्य लक्षणहरुमा बेहोस हुनु, पक्षघात, आदि रहेका छन् ।