जलवायु परिवर्तनको असर सुन्तला खेतीमा

म्याग्दीः तीन दशकअघिसम्म लटरम्म सुन्तला फल्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटका नीलकण्ठ सुवेदीको बगैँचा अहिले रिक्तिएको छ ।

“स्वादिलो, रसिलो हुने भएकाले गलेश्वर र बेनीमा मौवाफाँटको सुन्तला खोसाखोस हुन्थ्यो”, सुवेदीले स्मरण गरे, “अहिले मौवाफाँटमा सुन्तला उत्पादन हुनै छाड्यो । बगैँचा पनि नासियो ।”

कुनै समय राम्रो चर्चा र धेरै माग हुने मौवाफाँटको सुन्तला हाल एकादेशको कथाजस्तै भएको सुवेदीले बताए । उनीकहाँ मात्र नभएर मौवाफाँटमा अहिले कसैको घरमा पनि बगैँचा छैन ।
केही वर्षयता घरायसी उपभोगका लागि लगाएको सुन्तलाको बोटमा पनि फल लाग्न छाडेको मौवाफाँटका बासिन्दा हरि सुवेदीले बताए । तापक्रम वृद्धिको असर र माटोमा अम्लियपना बढेका कारण मौवाफाँटबाट सुन्तला नासिएको उनले बताए ।

दाना सानो लाग्ने, पात पहेँलो भएर झर्ने, हाँगा सुक्नेजस्ता समस्या देखिएको सुवेदीले बताए । रघुगङ्गा गाउँपालिकाको केन्द्र रहेको मौवाफाँट समुद्री सतहदेखि एक हजार दुई सयदेखि एक हजार चार सय मिटरको उचाइमा छ ।

गत वर्ष तीन हजार छ सय मेट्रिक टन सुन्तला उत्पादन भएको म्याग्दीमा यो वर्ष चार हजार सात सय ८१ मेट्रिक टन उत्पादन भएको छ । म्याग्दीका कृषकले यस वर्ष रू ३३ करोड ४६ लाख मूल्य बराबरको सुन्तला बिक्री गरेका कृषि ज्ञान केन्द्रका प्रमुख बास्तोलले बताए ।

गत वर्ष रू २४ करोड मूल्य बराबरको सुन्तला बिक्री भएको थियो । सरदर प्रतिकिलो रू ७० का दरले सुन्तला बिक्री भएको छ । यस वर्ष प्रतिहेक्टर ११ दशमलब २५ मेट्रिक टनका दरले सुन्तला उत्पादन भएको छ । गत वर्ष प्रतिहेक्टर आठ दशमलव छ मेट्रिक टनका दरले सुन्तला उत्पादन भएको थियो ।