महाशिवरात्रिका अवसरमा फूलैफूलले सजिएको पशुपतिनाथ

काठमाडौंः महाशिवरात्रिका अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ ।

महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका आज बिहान दुई बजेदेखि नै खुला गरिएको थियो । दुई बजेदेखि नै बढेको भिड अहिले झन् बढ्दै गएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

दर्शनार्थीहरुलाई पशुपति क्षेत्रको बाहिरी भागबाट चार र भित्री भागमा आठवटा लाइनको व्यवस्था गरिएको छ । व्यवस्थित रूपमा भक्तजनले लाममा बसेर दर्शन गर्न सक्ने व्यवस्था गरिएको कोषले जनाएको छ ।

महाशिवरात्रिका भक्तजनका लागि नेपाली सेनाले पुष्पवृष्टि पनि गरेको छ । नेपाली सेना र अन्य विभिन्न संस्थाहरुले पशुपति क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेका छन् । हंसमण्डपमा विभिन्न संघसंस्थाले भोजन, पानीलगायत सेवा दिइरहेका छन् ।

महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा आउने साधुसन्तलाई गत सोमबारदेखि नै गुठी संस्थान, कोषलगायत सरकारी एवं गैरसरकारी संघसंस्थाले खाने–बस्ने व्यवस्था गरेका छन् ।

यस वर्षको महाशिवरात्रिमा मन्दिर परिसर साजसजावटमा विशेष ध्यान दिइएको छ । पशुपति क्षेत्र वरपर फूल र बत्तीले झिलीमिली बनाइएको छ । भक्तजनहरु त्यहाँ पुगेर फोटो खिच्ने गरेका छन् ।

सजावटका लागि फूलहरु भारतबाट समेत आयात गरिएको पशुपति क्षेत्र विकास कोषका अधिकारीहरु बताउँछन् ।

महाशिवरात्रिका दिन धेरै भीड हुने भएकाले कति भक्तजन भने लाइन नबसी पशुपति क्षेत्र पुगेर मूल मन्दिरको गजुर मात्र दर्शन गरेर फर्कने गरेका छन् । गजुर दर्शन गर्दा पनि पशुपतिनाथ मन्दिरमै गएर दर्शन गरेको बराबर फल मिल्ने विश्वास गरिन्छ ।

मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा ‘एयरपोर्ट’–तिलगङ्गा भएर पिङ्गलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक–एक लाम गरी बाहिरी रूपमा दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।