अटिजम भएका बालबालिकाको हेरचाह सम्बन्धि निर्देशिका बनाइने

काठमाडौं  :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्ने भएको छ ।

बालबालिकामा अटिजम देखा पर्ने क्रम बढेको भन्दै स्वास्थ्य समस्या सम्बोधन गर्ने उदेश्यले मन्त्रालयले निर्देशिका तयार गर्न लागिएको हो ।

अटिजम देखिएका बालबालिकाका पक्षमा स्वास्थ्य संस्थाहरुमा प्रभावकारी काम गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सर्वप्रथम रोकथाम, उपचार, हेरविचार तथा सहयोगजस्ता विषय समेटेर निर्देशिका बनाउने निर्णय समेत गरेका हुन् ।

यसका लागि डाक्टर दिपकप्रकाश महराको संयोजकत्वमा १० संदस्यीय मिति गठन गरिएको छ ।

समितिमा दिपकराज सापकोटा, डाक्टर सुनिता मलेकु, डाक्टर मेरिना श्रेष्ठ, डाक्टर अरुण कुँवर सदस्य छन् ।

यसैगरी, ध्रुवकेदार अधिकारी, सन्तोष रायमाझी, उमेश तामाङ तथा कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाका प्रतिनिधिलाई सदस्य तथा मन्त्रालयको बहुक्षेत्रीय समन्वय शाखा प्रमुखलाई सदस्य सचिव तोकिएको छ ।

समितिले एक महिनाभित्र अटिजम रोकथामका विषयमा अध्ययन गरेर स्वास्थ्य क्षेत्रका कार्यक्रममा समावेश गर्न सकिने विषय सुझाव दिनेछ ।

यसैगरी, अटिजम भएका बालबालिकाको हेरचाह, उपचार तथा सहयोग सम्बन्धी क्रियाकलाप निर्देशिकामा समावेश गरिनेछ ।

समितिले अटिजमका क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाहरु तथा विकास साझेदारसँग सहकार्यको खाकासमेत तयार पार्ने मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी गराए ।

नेपालको जनगणना २०७८ अनुसार नेपालमा अटिजम भएकाको संख्या ४ हजार ८८४ देखिन्छ ।

तर, विश्व स्वास्थ्य संगठनले भने नेपालमा झण्डै तीन लाखमा यस्तो खालको समस्या रहेको डब्लुएचओको अनुमान छ ।