शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मुटुको इको सेवा सुरु

काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा थप एक नयाँ सेवा विस्तार भएको छ । अस्पतालले मुटुका बिरामीलाई सेवा दिने उद्देश्यसहित इको सेवा थप गरेको हो ।

अस्पतालका निर्देशक डा युवानिधी बसौलाका अनुसार हप्तामा तीन दिन सेवा दिने गरी बिहीबारबाट इको सेवा सुरु भएको छ ।

’मुटुरोग विशेषज्ञ डाक्टर हरिहर खनालले इको सेवा दिन सुरु गर्नु भएको छ,’ उनले भने, ’अबदेखि अस्पतालमा आउने बिरामीले हरेक आइतबार, मंगलबार र बिहीबार इको सेवा लिन पाउने छन्।’

डा बसौलाका अनुसार बिहीबार पहिलो दिन चार जनाले इको सेवा लिएका छन्।

अस्पतालले पछिल्लो समय सेवा थप गर्दै लगिरहेको छ। अस्पतालमा गत महिना वार्षिकोत्सवका दिन छाला, यौन तथा कुष्ठरोग उपचारको छुट्टै केन्द्रको सुरुवात भएको थियो।